१९ वर्ष २ महिना जेल सजायपछि ‘बिकिनी किलर’ चार्ल्स शोभराज जेलमुक्त भए। १० वर्ष नेपाल आउन प्रतिबन्धसहित साँझ फ्रान्सका लागि उनलाई निष्कासन (डिपोर्ट) गरियो। कतार एयरलाइन्सबाट उनलाई फ्रान्स पठाइयो। २०३२ सालमा नेपाल आएका बेला दुई विदेशी नागरिकको हत्या भएको अभियोगमा उनलाई सर्वश्वसहित जन्मकैदको सजाय सुनाइएको थियो।चार्ल्स शोभराज फ्रान्सेली नागरिक हुन्। उनका पिता भारतीय मूलका हुन् भने आमा भियतनामी। उनी जन्मिएपछि पिताले उनलाई स्वीकार गरेनन्। उनकी आमाले फ्रान्सका सैनिक अधिकृतसँग विवाह गरिन्।
शोभराज पनि फ्रान्सेली बाबुकै परिवारमा हुर्किए। उनी हुर्कने क्रममा पिता र बाबुबाट बेवास्तामा परे। अभिभावकत्वको अभावमा उनी अपराध कर्ममा लागे। सन् १९६३ मा पेरिसमा भएको चोरी अभियोगमा उनी प्रक्राउ परे।
फ्रान्सको जेलमा हुँदा उनले विभिन्न अपराध गरेका व्यक्तिहरूसँग संगत गरे। उनीहरूकै प्रभाव पर्यो। उनले पर्यटकलाई लुट्ने र हत्या गर्ने गरेको आरोप छ। उनीविरुद्ध विभिन्न देशमा २० जनाभन्दा बढी व्यक्तिलाई हत्या गरेको आरोप छ। भारतीय जेलबाट त उनी फरार नै भएका थिए। उनी सन् १९६३ देखी १९८२ सम्म विभिन्न देशमा ठूला–ठुला अपराध गरेको बताइन्छ। धेरैजसो महिलाहरूको हत्या गरेकाले बिकिनी किलरका रूपमा पनि उनी चर्चित छन्।
उनले थाइल्यान्ड, पाकिस्तान, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की र ग्रिसमा शृंखलाबद्ध हत्या गरेर फरार भएका थिए। उनीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले ग्रीन कर्नर नोटिस जारी गरेको थियो। उनी रत्नव्यापारीको आवरणमा आपराधिक क्रियाकलापमा संग्लन हुन्थे। जसको हत्या गर्थे उसकै पासपोर्टमा आफ्नो फोटो टासेर यात्रा गर्थे।
विदेशी नागरिकको हत्या आरोपमा नेपालमा पक्राउ परेपछि नेपालकै जेलमा पुगेका उनी सुरुसुरुमा जेल प्रशासनलाई अप्ठ्यारोमा पार्ने, अन्य कैदीलाई नचाहिँदो काम गर्न उक्साउने, जेलभित्रको अनुशासन भंग गर्ने, अस्वाभाविक माग राख्ने जस्ता कार्य गर्ने गरेको सुरक्षा अधिकारीले बताउँछन्। कहिले जेलबाटै विदेशी सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएर चर्चामा आउँथे त कहिले जेलभित्रै हुँदा नेपाली युवतीसँग बिहे गरेर चर्चामा आए।
हत्या गरिएका अधिकांश मृतकलाई अचेत बनाउन औषधि दिइएको, घाँटी निमोठिएको, पिटिएको वा आगो लगाएर प्रमाण नष्ट गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ। उनले थाइल्यान्डमा मात्रै १४ जनाको हत्या गरेको आरोप छ। उनी भारतमा सन् १९७६–१९९७ सम्म भारतको चर्चित तिहाड जेलमा थिए। त्यहीं आफ्नो जन्मदिन मनाउने क्रममा उपस्थित सबैलाई विषाक्त खाना दिएर फरार भएका थिए। सन् २००३ मा नेपाल आउँदा उनी पक्राउ परेका हुन्। उनका विषयमा धेरै क्रिमिनल फिल्म र उपन्यास पनि लेखिएका छन्।
दुई जनाको हत्या आरोपमा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएको हो । शोभराजलाई सन् २००३ मा कर्तव्य ज्यानको मुद्दामा पक्राउ गरी जिल्ला अदालत भक्तपुरले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।कारागार नियमावलीअनुसार ज्येष्ठ नागरिकले पाउने छुट सुविधामा अन्याय भएको दाबीसहित शोभराजले २०७५ मंसिर २५ गते बन्दीप्रत्यक्षीकरण रिट दिएका थिए ।
