नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा खुलेको प्रदेश १ प्रदेशसभाका सदस्यहरुले बुधबार सनाखत गर्ने भएका छन् । बुधबार विहान ११ बजे समाजवादीमा खुलेका १० सांसदले प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर नेकपा समाजवादीको पक्षमा सनाखत गर्ने कार्यक्रम रहेको नेता राजेन्द्र राईले जानकारी दिए ।
उनका अनुसार सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ समाजवादीको पक्षमा सनाखत गर्दैछन् ।
निर्वाचन कार्यालयमा ११ बजे गएर सनाखतको गर्ने उनले बताए ।
बागमती र सुदूरपश्चिम प्रदेशमा समाजवादी रोज्ने सांसदले मंगलबार नै सनाखत गरिसकेका छन् । नेता राईले भने जस्तै १० जना सांसदले एमाले छाडेर समाजवादी रोजेको अवस्थामा एमाले सचिव भीम आचार्य नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्नेछ ।
एमालेबाट अलग भएर गठन भएको समाजवादी रोज्ने सांसदहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको छ ।
यसअघि माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ । तर, उनी मुख्यमन्त्री भएपनि नेपाल समूहका बहुमत सांसदको उनले साथ नपाउने देखिएको छ । यसअघि नेपाल समूहमा १८ सांसद आबद्ध थिए
पार्टी विभाजनपछि नेपालको साथ छोडेर आचार्य प्रदेशको मुख्यमन्त्री बनेका छन् । त्यसैगरी अर्का नेता जीवन घिमिरेले पनि नेपालको साथ छाडेर एमालेमा फर्किएका छन् । आचार्यले मुख्यमन्त्री भएपनि नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने, पार्टीमा जिम्मेवारीसहितका विभिन्न ‘अफर’ गरेका छन् । तर, उनले प्रभावमा १० जना सांसदमध्ये कोहि नपर्ने बरु थप सांसदले सनाखत गर्ने राईको भनाइ छ ।
