नेकपा एसलाई सहभागी गराएर सरकार थप बलियो बनाउने दाहालको रणनीति, एकीकरण नै गरेर पहिलो दल बनाउने एमाले योजना
नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल एमाले र माओवादी केन्द्रलगायतका दलहरूको नयाँ सत्ता गठबन्धनमा मिलेर जान सकारात्मक देखिएका छन् । नेकपा एसलाई पनि मिलाउने प्रयासस्वरूप एमाले र माओवादीका नेताहरूले पहल गरिरहेका छन् ।नेपाललाई मनाउनका लागि बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भेटेर सरकारलाई समर्थन गर्न आग्रह गरेका छन् ।दाहालले कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँग मिल्ने क्रममा आफूसँग छलफल नगरेको भन्दै नेपालले गुनासो गरेका थिए । त्यही गुनासोलाई सम्बोधन गर्दै दाहालले बुधबार वामदलहरूको नेतृत्वमा सरकार बनेकाले सहयोग गर्ने अनुरोध गरेका थिए । विगतमा सहकार्य गरेर अघि बढेको र अहिले पनि मिलेर जानका लागि कुनै सैद्धान्तिक विमति हुने विषय नभएकाले सहयोग गर्ने प्रधानमन्त्री दाहालले आग्रह गरेका छन् ।
