प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता र स्वार्थमा लागेका प्रचण्ड पक्षधर कति मान्छे ल्याउने र देखाउने भन्ने होडबाजीमा लागेको बताएका छन् । बुटवलमा शनिबार ओली समूहको सभालाई सम्बोधन गर्दै उनले आमसभामा मान्छे ओसार्न र टाउको गन्‍नभन्दा चुनावमा गएर भोट गन्‍न आग्रह गरे । ‘उहाँहरु मान्छे हेर, मान्छे हेर भन्नुभएको छ । मान्छे किन हेर्नुपर्‍यो,’ उनले भने, ‘वैशाखमा चुनाव गराउला र बाकसबाट भोट नै गनेर देखाउँला । ’ उनले अबको चुनावमा ५० लाख समानुपातिक मत ल्याउने र प्रत्यक्षमा बहुमत ल्याउने दाबी गरे ।

प्रधानमन्त्री ओलीले आफूले गरेको असाधारण विकासले आत्तिएर देशी विदेशी प्रतिक्रियावादी षड्यन्त्रकारीहरु नेकपा सरकार हटाउन लागेको र प्रचण्डहरु त्यसकै पछि लागेको बताए । ओली नेतृत्वमा नेकपाले पूरा समय देश चलाउन पाउने हो भने अब नेकपाबाहेक अरु सरकार नआउने डरले देशीविदेशी शक्ति सरकार ढलाउने प्रयत्नमा लागेको उनले दाबी गरे । ‘अहिले ओलीलाई नहटाए फेरि आउन सकिन्न । डेढ/दुई वर्ष जनताका बीचमा जाँदा एक्लिने र चुनावमा बाकस रित्ता हुन्छन् । डर छ,’ उनले प्रचण्ड र माधव नेपाललाई इंगित गर्दै भने ‘यही डरले देशीविदेशी शक्तिहरु पनि लागेका छन् । उहाँहरु प्नि पाटी र सरकारबाट हटाउन लाग्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले १० वर्षसम्म जनतालाई ढाँटेर प्रचण्डले सत्ता र आसपासमा समय बिताएको आरोप लगाए । उनले अब आफू सत्तामा पुग्न सपना देखाउने, आश्वासन दिने र झुक्याउने समय बितेकाले प्रचण्डको साटो आफ्नो पक्षमा जनमत देखिएको दाबी गरे । ‘राणा पञ्‍चायत जस्तो शासनकाल अहिले छैन, १० वर्ष पचाउने समय गयो,’ उनले भने ‘त्यसैले हामी नयाँ योजनाका साथ अघि बढेका छौं । ’

प्रधानमन्त्री ओलीले प्रचण्डले युवालाई आफू सत्तामा पुग्ने भर्‍याङमात्रै बनाएको दाबी गरे । युवाहरुलाई सुन्दर सपना देखाएर आन्दोलनमा होमिन लगाएर तिनकै समस्या समाधान नगरिदिएर बिचल्ली बनाएको उनले बताए । ‘सुन्दर सपना देखाएर क्रान्तिमा लगाउनुभयो । जनवाद आउँछ । क्रान्ति आउँछ र सुखका दिन आउँछन् भनेर झुक्काइरहनुभयो,’ उनले भने, ‘प्रचण्डले हामी सानो छँदा भारतबाट आउने जादुगरले लोभ देखाएजस्तै लोभ बाँडे । केही गरेनन् ।’ जनयुद्ध लडेका त्यस्ता युवालाई अब सरकारले साथ दिने र संरक्षण गर्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले प्रचण्ड पक्षधरले विकास, समृद्धि र राष्ट्रियताको एजेन्डामा बहस गर्नु साटो केपी ओलीलाई लखेट्ने र देश बिगार्ने मात्रै उद्देश्यले देशव्यापी आमसभा गरेको बताए । सत्ता र पार्टीको नेतृत्व नपाएको झोकमा सडकमा गएका प्रचण्डहरु गालीको महापुराण लगाउने अभियानमा लागेको उनको आरोप छ । ‘उनीहरु बोल्ने कुरा केही छैन । जहाँ गए पनि गाली पुराण लगाएका छन् । गाली पुराण खण्ड एक, गाली पुराण खण्ड दुई/तीन चार गर्दै गालीपुराण १७ खण्डसम्म पुर्‍याएका छन् ,’ उनले भने, ‘हेरौं उनीहरुको गालीपुराण कहाँसम्म पुग्छ, कतिसम्म पुग्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *